काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग दक्षिणपन्थी शक्तिहरु रहेको बताएका छन्। शनिबार एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरुसँग भने वामपन्थी लोकतान्त्रिक शक्ति भएको बताए।
'बागमती प्रदेशमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुभएको छ। त्यहाँ पाँच दलीय गठबन्धन हो। पाँच दलीय गठबन्धनमा माओवादी छ, कांग्रेस छ, जसपा छ र राजमो छ। यी सबै वामपन्थी हुन्, लोकतान्त्रिक शक्ति हुन्। वामपन्थी लोकतान्त्रिक शक्ति हामीसँग छ', उनले भने, 'केपी ओलीसँग राप्रपा छ, दक्षिणपन्थी शक्ति। भारतसँग जोडिएको महन्थ ठाकुरको शक्ति। यिनलाई भन्छन् दक्षिणपन्थी शक्ति, प्रगति विरोधी र विदेशीहरुको चाकरी गर्ने शक्ति।'
अध्यक्ष नेपालले आफ्नो पार्टी देशभक्त भएको बताए। उनले आफूहरु विदेशीकासामु लम्पसार नपर्ने, घुँडा नटेक्ने बताए। ओलीप्रति लक्षित उनको प्रश्न थियो, 'मध्यरातमा गुपचुप रुपमा, कसैलाई थाहा नदिइकन, मर्यादा तोडेर विदेशीहरुसँग भेटघाट गरेको केपी ओली प्रधानमन्त्री हुँदा, तपाईंलाई थाहा छँदैछ। त्यही हो मर्यादा? प्रधानमन्त्रीले गर्नुपर्ने काम त्यही हो?'
नेपालमा दुई सय वर्षको शाही वंशलाई आफूहरुले अन्त्य गरेको उनको भनाइ थियो। 'त्यो बेलाको नेकपा एमालेको प्रमुख म आफैं थिएँ। केपी ओली विरोध गरिरहेका थिए। सम्भव छैन भनिरहेका थिए। बयलगाढा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फाल्नु एउटै हो भन्ने व्यक्ति केपी ओली थिए। त्यसकारणले केपी ओलीको पछिपछि बयलगाढावाला मान्छेहरु जाने हुन्। क्रान्तिकारी सोच भएका मान्छे जाने होइन। परिवर्तनका संवाहक जाने होइनन्। परिवर्तनका हिमायती जाने होइनन्। परिवर्तनका हिमायती हामीसँग जोडिने छन्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।