काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको भविष्य नभएको बताएका छन्। उनले अब नेकपा एकीकृत समाजवादी चम्किने दाबी गरे।
'कहिल्यै संगठन नबनाएका, गफ बाहेक केही पनि नजानेका मान्छेले पार्टी चलाउलान्? विश्वासै छैन', शनिबार एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'त्यसैले अब एमालेको भविष्य छैन। त्यो त अब सिद्धियो, सिद्धियो। अब चम्कियो, नयाँ पार्टी- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजावादी।'
उनले २०३५ सालमा आफूहरुले नेकपा माले बनाएको र २०४७ सालमा मनमोहन, भरतमोहन, साहना प्रधान, सिद्धिलाल सिंह लगायतका पुराना नेताहरुलाई समेटेर नेकपा एमाले बनाएको बताए। 'एमाले बनाएको केपी ओलीले होइन। यसको संस्थापक नेता म आफैं हुँ। कसैले फुर्ती नदेखाए हुन्छ', उनले भने।
उनले कम्युनिस्ट पार्टीभन्दा गतिलो अरु पार्टी नभएको पनि बताए। तर, कम्युनिस्ट पार्टीभित्र सक्कली पनि रहेको र नक्कली पनि रहेको भन्दै नक्कलीबाट सावधान रहनका लागि भन्नुपर्ने बताए।
'सक्कली यो (एकीकृत समाजवादी) हो भनेर देखाउनुपर्छ', उनले भने, 'अहिले नक्कली भनेको सूर्य चिह्न बोकेको, पूरै ग्रहण लागिसकेको त्यो पार्टीको भरोसा छैन। अहिले कलम चिह्न लिएर आएको नयाँ पार्टी छ, एकीकृत समाजवादी। यही समाजवादी पार्टीको भविष्य छ।'
उनले केशरजंग रायमाझीसँग पुष्पलालले विद्रोह गरेको चर्चा गर्दै एमालेमा आफ्नो विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी फस्टाउने दृढता व्यक्त गरे।
'विद्रोह गरेको व्यक्ति पुष्पलाल, उहाँले खडा गरेको नयाँ पार्टी अगाडि बढ्यो। रायमाझीको पार्टी समाप्त भएर गयो', अध्यक्ष नेपालको भनाइ थियो, 'तपाईंहरुका माझमा कसैकसैले प्रचार गर्छन्- विद्रोह गरेको पार्टी टिक्दैन, नयाँ बनाएको पार्टी टिक्दैन। सोध्नुस्- पुष्पलालको पार्टी टिक्यो कि रायमाझीको? यो सोध्नुस्- २०३२ सालमा हामीले बनाएको कोके टिक्यो कि अरु बाँकी टिके?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।