काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडि बढ्ने बताएका छन्। नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई आज सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडि बढ्ने बताएका हुन्।
'संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो, विभिन्न कारणले संसद्मा अड्किएको छ,' उनले भने, 'यस बारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ, अब अगाडि बढ्छ।'
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका मन्त्री पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने संकल्प गरेको जानकारी दिँदै फेरि तल्लो तहबाट उठ्ने दाबी गरे।
'पार्टीमा २०६४ सालको कुरा हुँदै गर्दा हामी कोही पनि ०६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिर्वतन गरी फेरि पार्टी निर्माणमा लाग्नुपर्नेछ,' उनले भने।
द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षाका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्ने उनले बताए। त्यसको लागि आफूले कुरा उठाइरहेको पौडेलको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।