काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताएका छन्।
संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको तर्क थियो।
‘अर्ली इलेक्सन हुँदैन। बडो क्लियर हुनुहोला। अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन। दोस्रो कुरा, सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन। कोही कन्फ्युज हुनु पर्दैन’, शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भने।
उनले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए। दाहालले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताए।
यस्तै, सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन्।
अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पारे।
उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए।
दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दाबी पनि गरे। ‘गठबन्धन ठीक ढंगले अगाडि बढ्दैछ। तपाईँहरुले पनि देखिराख्नु भएको छ। अब सरकारले पूर्णता पाइसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।