काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जनाएको छ।
सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ। सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारीधनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जनाएको छ।
पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्याङ्कले देखाउँछ। विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (बिल बुक) डिक्कीमै राख्ने गरेको र चाबीसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ। त्यसैले प्रहरीले जथाभावी पार्किङ नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ।
महाशाखाका अनुसार चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। चोरीमा संलग्न १९ जनालाई कारबाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।