काठमाडौं- 'बहिर्गमित जनमुक्ति सेना नेपाल'को प्रतिनिधिमण्डलले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ।
गृह मन्त्रालयमा शुक्रबार संगठनका इञ्चार्ज असिम आङबुहाङ लिम्बू, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधि मण्डलले ‘बर्हिगमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधनसम्बन्धी प्रस्तावनाबारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझ्दै उनले माग अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने बताए। ‘हामी तपाईंहरूले ज्ञापनपत्रमार्फत् बुझाएका माग अध्ययन गर्छौं। त्यसपछि के गर्न सकिन्छ भनौंला,’ खाणले भने।
संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए। संगठनले बृहत् शान्ति सम्झौतापश्चात् सैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणीकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा पारेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।
ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपाङ्गता भएकाहरूको वर्गीकरण गरी परिचयपत्र प्रदान गर्ने, सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च बेहोर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितहरूलाई नि:शर्त रिहा र आममाफी दिनुपर्ने लगायतका माग राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।