काठमाडौं- गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ। विगतको अनुभव र हाल कर्यान्यनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको छ।
सोमबार काठमाडौंमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए। उनले आवश्यकताको आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए। उनले संरचनाहरू नेपालको आवश्यकता अनुसार निर्माण गर्नुपर्ने र समय सापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए।
‘विपदसँग जुध्न अधिकार प्रत्यायोजन गरेर मात्रै हुन्न, संघ एक्लैले गरेर पनि सक्दैन। संघ, प्रदेश र स्थानीय तह सँगसँगै जानुपर्छ,’ गृहमन्त्री खाणले भने।
मन्त्री खाणले विपद् व्यवस्थापनका विषयमा ऐन, कानूनमा उल्लेख छैन भनेर काम गर्न बिर्सन नहुने र त्यसपप्रति मन्त्रालय सचेत रहेको बताए। विपदपछिको पुनःनिर्माणमा समन्वय अभाव देखिएको उनले बताए।
गृहसचिव टेकनारायण पाण्डेले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि कस्तो संरचनाको आवश्यकता हुन्छ भन्नेबारे गम्भीर छलफलको अवश्यकता रहेको औँल्याए। विपद्प्रति मानिसमा चासो र सूचना वृद्धि गर्नु आवश्यक रहेको पनि बताए।
पछिल्ला समयमा मुलुक कल्पना भन्दा बाहिरको विपद्सँग जुधिरहेकाले त्यसको सामना गर्न रणनीतिक योजना निर्माणका लागि छलफल जरुरी रहेको उनको भनाइ छ। बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले श्रोत साधन र जनशक्तिको अभावका कारण थप प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताए।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले बैठकमा आएका सुझावलाई एकीकृत गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।