काठमाडौं– वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ। यसअघि कोरोना भाइरसको महामारीका कारण वीरमा मिर्गौला प्रत्यारोपण सेवा रोकिएको थियो।
वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले मिर्गौला प्रत्यारोपण सेवा मंगलबारदेखि पुन: सुरु भएको जानकारी दिए।
डा बस्नेतका अनुसार मंगलबार सिराहाका ५० वर्षीय एक पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको हो। ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएकी थिइन्।
कोरोना महामारीको अवस्थापछि मिर्गौला प्रत्यारोपण गर्नुअघि मिर्गौला लिने र दिने दुवै व्यक्तिको कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको डा बस्नेतले जानकारी दिए।
‘कोरोना महामारीका कारण वीरमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा आजदेखि सुरु भएको छ, आज एकजना ५० वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरियो,' उनले भने, ‘अब यो सेवा नियमित सञ्चालन हुन्छ।’
वीर अस्पतालमा सातामा एकजना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको डा बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।