काठमाडौं– साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा जन्मकैद सजाय पाएका चुडामणि उप्रेती (गोरे)लाई थप सजाय सुनाइएको छ। जिल्ला अदालत मोरङले गोरेलाई थप १० वर्ष कैद र एक लाख रुपैयाँ जरीवानाको फैसला सुनाएको हो।
अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला मोरङ अदालतले गरेको हो।
जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो।
असोज १९ गते लम्सालकै इजलासले सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकलाई तीन वर्ष र एक जनालाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सबै प्रतिवादीलाई सफाइ दिएको थियो जन्मकैदको सजाय तोकिनेमा गोरेसँगै मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी थिए। यस्तै, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको थियो।
२०७४ माघमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएपछि यो प्रकरण सुरु भएको थियो। उक्त सुन खोजी गर्ने क्रममा १८ फागुन २०७४ मा सुन तस्करीका नाइके गोरेका सहयोगी मोरङ उर्लाबारी नगरपालिका–७ का युवा सनम शाक्यको हत्या भएको थियो।
उनको अपहरणपछि हत्या गरिएको थियो। शाक्यको शव १९ फागुन २०७४ मा विराटनगर–१ पोखरियामा स्कार्पियो जिपभित्र फेला परेको थियो। घटनास्थलबाट टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए।
उक्त्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो। उनीहरूमाथि आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी, निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको अभियोग लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।