काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरेका हुन्।
अघिल्लोपटक स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो। यसपटक आयोगले एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए।
‘स्थानीय तहको निर्वाचनको तत्काल गर्नुपर्ने छ। त्यसका लागि एकै चरणमा गर्दा राम्रो हुन्छ कि भन्ने हाम्रो बुझाइ छ’ धमलाले भने, ‘तर, निर्वाचन एकै चरणमा गर्ने वा नगर्ने, कहिले गर्ने भन्ने विषयमा मिति निश्चित गर्ने निर्णय भएको छैन।’
तर, प्रधानमन्त्री देउवाको आसय आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गर्दा राम्रो हुन सक्ने आसय व्यक्त गरेका थिए। यसअघि २०७४ साल वैशाख ३० गते पहिलो चरण, दोस्रो चरणको निर्वाचन असार २८ गते र तेस्रो चरण असोज २ गते भएको थियो।
आर्थिक र प्रशासनीयक रुपमा सहज हुने भएकाले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगले सुझाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।