काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थलाई सम्मान गर्नुपर्ने बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल र भारत दुवै त्यतातिर लाग्नुपर्ने बताए।
'हामी नेपाल र भारतको सम्बन्ध जसरी विशिष्ट भन्छौं। त्यसकारण नेपाल र भारतको राष्ट्रिय स्वार्थलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनै पनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन', उनले भने।
प्रचण्डले कुनै पनि देशको विदेश नीति त्यो देशको आन्तरिक नीतिको विस्तारित रुप भएको भन्दै कूटनीतिक सम्बन्ध र विदेश नीतिको मुटु र मन नहुने बरु दिमाग मात्रै हुने बताए। यस सन्दर्भमा सम्बन्धित देशको राजनीति व्यवस्थाको खासै भूमिका नहुने उनले चर्चा गरे।
'यदि नेपालको राष्ट्रिय स्वार्थमा भारतले अवरोध होइन, सहयोग गर्छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ। नेपालमा जुनसुकै व्यवस्था होस्। त्यसले भारतको राष्ट्रिय स्वार्थलाई अवरोध पुर्याएको छैन बरु सहयोग गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ', उनले भने, 'यो कुरा दुनियाँमा देखिएकै छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।