काठमाडौं- सरकारले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा दलहरुसँग छलफल गर्ने भएको छ।
निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलमा रिक्त पदको उपनिर्वाचन के गर्ने भन्ने विषयमा धारणा मागेका थिए।
सो क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा सत्ता साझेदार दल र अन्य राजनीतिक दलसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीले दलहरुसँग छलफल गरेर यस विषयमा निष्कर्षमा पुग्ने बताएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए।
स्थानीय तहमा रिक्त रहेका पदमा भने उपनिर्वाचन गर्नु अब आवश्यक नभएको आयोगले नै प्रष्ट पारेको थियो। अबको ६ महिनापछि स्थानीय तहको निर्वाचन नै गर्नुपर्ने समय नजिक आइसकेकाले उपनिर्वाचन गर्नु आवश्यक नहुने आयोगको भनाइ छ।
प्रतिनिधि सभा र प्रदेश सभाको हकमा भने के गर्ने भन्ने विषयमा सरकारले पनि निर्णय गर्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासाझेदार दलभित्र पनि अर्लि इलेक्सनको विषयले चर्चा पाइरहेकाले अहिले रिक्त रहेका प्रतिनिधि र प्रदेश सभाका पदमा उपनिर्वाचन गर्ने कि के गर्ने भन्ने निर्णय हुन समय लाग्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।