काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।
निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्। प्रधानमन्त्रीलाई भेटन सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरु बालुवाटार पुगेका थिए।
‘आगामी चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाउनुभएको थियो,’ आयोग स्रोतले भन्यो । प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच स्थानीय तहदेखि प्रतिनिधि सभाको निर्वाचन निर्वाचनसम्मको विषयमा कुराकानी भएको जनाइएको छ।
आजको भेटमा निर्वाचन आयोगका पदाधिकारीले राष्ट्रिय सभाको रिक्त स्थानमा चुनाव गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए।
त्यस्तै, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा पनि केही स्थान रिक्त रहेका छन्। यस विषयमा पनि आज प्रधानमन्त्रीसँग छलफल भएको आयोगका एक पदाधिकारीले जानकारी दिए।
निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले सोमबार एक विज्ञप्ती जारी गर्दै आगामी फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जनाएका छन्।
यस्तै, स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था,
प्रतिनिधि सभाका रिक्त ४ सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा पनि प्रधानमन्त्रीसँग छलफल भएको विज्ञप्तीमा जनाइएको छ।
आयोगका पदाधिकारीहरुले निर्वाचन सम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका सम्बन्धमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।