काठमाडौं- नेकपा एमाले कञ्चनपुरले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। एमालेको दशौं राष्ट्रिय महाधिवेशन अघि नै कञ्चनपुरले नेताहरुको जिम्मेवारी तोकेको हो। आइतबार बसेको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।
एमालेको विधानमा व्यवस्था भए बमोजिम विभागहरु पुनर्गठन गर्नुका साथै विभिन्न जनसंगठनहरुका फाँट प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरिएको एमाले कञ्चनपुरले जानकारी दिएको छ।
स्कुल विभाग प्रमुखको जिम्मेवारीमा अध्यक्ष वीरबहादुर थापा, संगठन विभागमा सुरेन्द्र विष्ट, प्रचार विभागमा रण बहादुर महरा, शिक्षा तथा मानव स्रोत विभागमा टेक बहादुर हमाल, स्थानीय तह विकास विभागमा पल्लव राज भट्ट, आर्थिक विभागमा मोहन सिंह रावल, निर्वाचन विभागमा राधाकृष्ण जोशी, सहकारी तथा गरिबी निवारण विभागमा चाँदनी धामी, समावेशीकरण तथा सामाजिक सुरक्षा विभागमा फैरु तामाङले जिम्मेवारी पाएका छन्।
यस्तै, प्राकृतिक स्रोत व्यवस्थापन विभागमा खेमराज ओझा, स्वास्थ्य, जनसंख्या तथा वातावरण विभागमा रामकृष्ण श्रेष्ठ र कार्यालय सचिवको जिम्मेवारी कर्णबहादुर चन्दलाई तोकिएको छ। यस्तै, १९ वटै जनवर्गीय संगठनका फाँट प्रमुखहरु पनि तोकिएको छ।
कात्तिक १२ गते तोकिएको वडा अधिवेशन र १५ गतेका लागि तोकिएको पालिका अधिवेशनमा सहजीकरण गर्नका लागि पनि सहजकर्ताको जिम्मेवारी विभिन्न नेताहरुलाई दिइएको छ।
यस्तै, नेकपा एमाले कञ्चनपुरले असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले पुर्याएको क्षतिको तथ्यांक संकलन गरेर राहत प्याकेज ल्याउन र क्षतिपतूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
एमालेले महाकाली नदीमा निर्माण भइरहेको महाकाली पुल र पहुँच मार्ग निर्माण कार्यमा भएको लापरवाही एवं गुणस्तरीयतामाथि प्रश्न उठेकोले सो सडक निर्माणको सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन समेत सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।