काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले ‘विद्रोह’गरेका छन्। उनीहरू इजलास छाडेर बेग्लै छलफलमा जुटेका छन्।
सोमबार प्रधानन्यायाधीश जबराले आफूबाहकेको सात इजलास तोकेका छन्। राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्। तर, कोही पनि न्यायाधीश इजलासमा सहभागी भएका छैनन्।
राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका हुन्।
राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर राखेका हुन्।
राणाले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय न्यायाधीशहरुले गरिसकेका छन्। आइतबारको बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए।
सर्वोच्चमा कार्यरत १९ स्थायी न्यायाधीशमध्ये पाँचजना काठमाडौं बाहिर भएकाले अदालतमा उपस्थित थिएनन्। आइतबारको बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन्।
न्यायाधीश सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा भने खप्तड भ्रमण छन्। उनीहरू पूर्वनिर्धारित कार्यक्रम अनुसार खप्तड पुगेको सर्वोच्च प्रशासनले जनाएको छ। उनीहरू दिपायल उच्च अदालत अनुगमन गर्दै खप्तड पुग्ने कार्यक्रम छ। यस्तै, न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन् भने न्यायाधीश तेजबहादुर केसी र कुमार चुडाल घरविदामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।