काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई आफ्नो पार्टीमा प्रवेश गराउने भएका छन्।
पदमा रहँदा र अवकाशपछि पनि पटक पटक विवादमा परेका खनाललाई ओलीले अन्ततः एमालेमै भित्र्याउन लागेका हुन्।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले केही दिनभित्रै खनाललाई पार्टीमा प्रवेश गराउने जानकारी दिए। 'एक कार्यक्रमको आयोजना गरेर उहाँ एमालेमा प्रवेश गर्नुहुने छ', उनले नेपाल लाइभसँग भने।
आइजीपी नियुक्त हुँदादेखि नै खनाल विवादमा परेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को जोडबलमा उनलाई ओलीले नै आइजीपी नियुक्त गरेका थिए। उनलाई आइजीपी बनाइएपछि प्रहरीमा होनहार अफिसर मानिने रमेश खरेलले राजीनामा दिएका थिए।
अवकाशपछि खनाल तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको 'अपहरण काण्ड'मा मुछिएका थिए। उनीविरुद्ध प्रहरीमै जाहेरी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।