फाइल तस्बिर
काठमाडौं- संसदीय समितिले बाढीपहिरो पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्। समितिले वर्षातका कारण अवरुद्ध सडक तथा पुलहरु तत्काल सञ्चालनमा ल्याउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ।




सभापति खड्काले मनाङ, बझाङ र बाजुरा जिल्ला बाढीपहिरोका कारण ठप्प रहेको उल्लेख गर्दै तत्काल सञ्चालनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको बताउइन्। उनले भनिन्, ‘बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र खोजी कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी घाइते भएकाहरुको उपचार र प्रभावितहरुलाई उचित राहत उपलब्ध गराउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ। हालैको वर्षातका कारण अवरुद्ध भएको सडक तथा पुलहरु ततल सञ्चालनमा ल्याउन एवम् मनाङ, बझाङ, बाजुरालगायतका जिल्लाहरुमा पुग्ने सडकहरु पूर्णरुपमा अवरुद्ध भएकाले अस्थायी रुपमा तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ।’
समितिले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यप्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सम्पन्न हुने लक्ष्य तोकी कामलाई तीव्र ढंगले अघि बढाउन सरकारलाई निर्देश गरेको छ। १४ वर्ष बितिसक्दा पनि सो आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएकाले त्यसलाई सक्ने लक्ष्य तत्काल तोकि कामलाई छिटो अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको पनि समितिले जनाएको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसहित मन्त्रालयका पदाधिकारीहरुले बाढीपहिरोबाट उत्पन्न सडक, पुलहरुको अवस्था र त्यसको व्यवस्थापनका लागि भइरहेका कामबारे समितिलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।