फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल बाहेकका व्यक्ति पार्टीमा फर्किए पनि उनलाई पार्टीले नलिने बताएका छन्।
आइतबार गृहनगर झापामा आयोजित कार्यक्रममा उनले भने, ‘पार्टी फुटाएर अर्को पार्टी बनाएर धाक लगाएर अर्कोले टाँसी दिएको जुंगा देखाएर हुँदैन’, उनले भने, ‘बिग्रेको आलु थुपारेर काम हुँदैन।’
माधव नेपाल बाहेक अरु नेता पार्टीमा फर्किए जिम्मेवारी दिने भन्दै उनले माधव नेपाल फर्किन नसक्ने बताए। ‘एमालेले अब माधव नेपाललाई लिँदैन। किनभने यो पार्टी देश बनाउन हिँडेको पार्टी हो। माधव नेपाल जस्तो देशविदेशी प्रतिक्रियावादीको सेवामा कम्युनिस्ट पार्टीको आन्दोलन समाप्त पारेर हिँडने होइन,’ उनले भने।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनाव जितेर देखाउन चुनौती पनि दिए। ‘मन्त्री बनाउन तीन महिना लगाउनेले जस्तोसुकै मोर्चाबन्दी गरेपनि केही हुँदैन,’ उनले भने, ‘विध्वंसकारी तत्व हुन्। अस्थिरता ल्याउने तत्व हुन्। उनीहरुलाई अब अदालत जाऊ, परमादेश लिएर आऊ भन्नु पर्छ।’
एमालेलाई चारैतिर घेराबन्दी गरेपनि अहिले मुलुकको सबैभन्दा ठूलो पार्टी नै भएको भन्दै ओलीले पार्टीभित्रका केही गद्दार र अपराधीहरुले विरोधीसँग साँठगाठ गरेर सरकार ढालेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।