काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार दिउँसो नेपाल बार एसोसिएसनका पदाधिकारीसँग गरेको छलफल र त्यसपछि बोलाएको फुलकोर्टले न्यायाधीशहरुको आक्रोश बढाएको छ।
बारका पदाधिकारीसँगको छलफल गत्तै सर्वोच्च अदालतमा उपस्थित भएका १४ न्यायाधीशहरुको बैठक बसेर प्रधानन्यायाधीश राणाले अदालतलाई बदनाम गरेर आफू बच्नका लागि विषान्तर गर्न फुलकोर्ट बोलाएको निष्कर्ष निकालेका हुन्।
बैठकमा सहभागी एक न्यायाधीशले भोलि इजलास बहिस्कारसम्मको घटना हुनसक्ने बताए। ‘प्रधानन्यायाधीशले फुलकोर्ट अहिले जारी विवाद भन्दा बाहिर अध्ययन समितिको प्रतिवेदन र वरिष्ठ अधिवक्ताहरुको उपाधी दिनका लागि भन्दै बोलाएको अजेण्डा हामीले करिब पौने पाँच बजे पाएका छौं’ ती न्यायाधीशले भने, ‘प्रधानन्यायाधीशबाट जुन संकट सिर्जना भयो यसका कारण हामीले आज इजलास छोडेर २ बजेदेखि पाँच बजेसम्म छलफल गरेका छौ। भोलि पनि यस्तै हुन सक्छ। आज इजलास पूर्ण बहिष्कार हुन सक्छ।’
अहिले विषय महाअभियोग र मार्ग प्रशस्त गर्ने कुरा आएको भन्दै ती न्यायाधीशले वरिष्ठ अधिवक्ता उपाधिको कुरा निकाल्नु भनेको विषय अन्यत्रै लैजाने प्रयास भएको बताए। ‘प्रसंग नै नभएको समयमा प्रधानन्यायाधीशले आफ्नो गल्ती छोप्न र विषयान्तर गर्न खोज्नु भएको छ। यो हामीलाई मान्य छैन’, ती न्यायाधीशले भने, ‘बारका मानिसहरु फुलकोर्टमा बस्न मिल्दैन। उनीहरु बसेको स्थानमा हामी बस्न सक्दैनौं।’
उनले भोलि ११ बजे फेरि १४ न्यायाधीशहरूको बेठक बसेर निर्णय गरेर अघि बढ्ने बताए।
‘अहिले प्रष्ट हुनुपर्ने कुरा यत्ति हो, आज चियापछि इजलास लागेन। यो एक प्रकारको बहिस्कार हो’, उनले भने, ‘प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ। पूर्वन्यायाधीशले समेत न्यायालयमा हुने क्षति कम गर्न उनलाई मार्ग प्रशस्त गराउनुपर्छ भनेको कुरा हामीले गम्भीर रुपमा लिएका छौं।’
प्रतिनिधि सभालाई पूर्वन्यायाधीशहरुले गरेको आह्वानलाई पनि आफूहरुले अजेन्डा बनाएर छलफल चलाइरहेको ती न्यायाधीशले बताए। ‘फुलकोर्टमा हामी बस्दैनौं प्रष्ट कुरा यही हो’, उनले भने, ‘अब निर्णायक तहमा पुगेको छ जे पनि हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।