काठमाडौं- माओवादी सकिनुपर्ने अभिव्यक्ति दिएका पूर्वअर्थसचिव रामेश्वर खनालप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कटाक्ष गरेका छन्। आइतबार आयोजित 'ज्योति स्पर्श' र 'रातो बारुद' पुस्तक लोकार्पण कार्यक्रममा उनले खनालप्रति लक्षित गर्दै खनाललाई सामाजिक विभेद रुचाउने व्यक्ति भएको चित्रण गरेका छन्।
'हिजोका सरकारका कतिपय ठूल्ठूला महान्, विद्वान, ब्युरोक्रेसीका ठूला भनिएकाहरु चाहिँ माओवादी नसकिँदासम्म यो देशले सुख पाउँदैन भनेको सुन्नुभएको छ नि हिजोअस्ति मात्रै', प्रचण्डले भने, 'को हुन् ती मान्छेहरु? यो सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनःस्थापित गर्न चाहने।'
उनले महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के? भन्ने प्रश्न गरे। 'दुर्भाग्य के छ भने जुन वर्ग समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौं, अहिले त्यो वर्ग समुदाय पनि जानेर वा नजानेर आफूलाई अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमीठो लाग्छ', उनले भने।
खनालले केही दिनअघि माओवादी सकिनुपर्ने भन्दै केही ट्विट/रिप्लाइहरु लेखेका थिए। यस्ता छन्, खनालका केही धारणाहरु :
अक्टोबर १८- माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अलि लामै भयो त।
अक्टोबर १८- राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रतिव्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिनँ म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ!
अक्टोबर २०- बडादशैँ २०७८ को अन्तिम दिनको शुभकामना : आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टीलाई मत दिने अवस्था उत्पन्न नहोस! बन्धनबाट मुक्ति मिलोस। व्यक्तिगत स्वतन्त्रता सर्वमान्य होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।