फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितिमा राखेको आरोप लगाएका छन्।
आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितिमा राखेको आरोप लगाएक हुन्। उनले पार्टी सभापति देउवाले नेतृत्वमा कब्जा गर्ने निहीत उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै कांग्रेसलाई सवल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए।
उनले पार्टी सभापति देउवा कांग्रेसलाई गतिशील बनाउन असक्षम सावित भइरहेको आरोप लगाए। नेता सिंहले मधेसमा नागरिकता दिन ढिलासुस्ती गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताए।
उनले नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए।
नेता सिंहले मधेसमा देखिएको नागरिकतासहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको कमजोरीको कारणले कम्युनिस्ट सत्तामा आएको र अहिले पनि कांग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए।
पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे। आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।