काठमाडौं- नेपाली कांग्रेसले पार्टीको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधनप्रति दु:ख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी शनिबार त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा उपचारका क्रममा लामाको निधन भएकोप्रति दु:ख व्यक्त गरेको हो।
ब्लड क्यान्सर रोगबाट पीडित उनी कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाकी धर्मपत्नी हुन्। 'नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ,' विज्ञप्तिमा उल्लेख छ।
सोही विज्ञप्तिमार्फत् कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
'नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाकी धर्मपत्नी एवं सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष श्रीमति मीरा अधिकारी लामाको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।