काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना नाता पर्ने गजेन्द्र हमाललाई मन्त्री नबनाउन प्रधानमन्त्री शेरबहादुरलाई देउवालाई भनेको बताएका छन्। तर, हमाललाई मन्त्री बनाएर आफूलाई विवादित बनाइएको उनको गुनासो छ।
नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलमा उनले हमाल मन्त्री बन्नुमा आफ्नो कुनै संलग्नता नरहेको समेत दाबी गरे। उनले हमालसँग नाता पर्ने भएपनि आउजाउ नरहेको बताए।
'मैले उहाँलाई (गजेन्द्र हमाल) मन्त्री नबनाउन भनेर प्रधानमन्त्रीलाई भनेको थिएँ। तर, उहाँले बनाउनुभयो। राजीनामा दिनुभयो। यसमा मेरो कुनै संलग्नता छैन। उहाँ नाता पर्नुहुन्छ तर आउजाउ छैन', छलफलमा राणाको भनाइ उदृत गर्दै बारका एक पदाधिकारीले भने।
को कताको हो, कुन पार्टीको भन्ने विषय आफूसँग जोडिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि नै प्रधानन्यायाधीश राणाको कोटाबाट हमाल मन्त्री बन्न लागेका समाचार सार्वजनिक भएका थिए। त्यसपछि यसको चौतर्फी आलोचना पनि भएको थियो।
तर, आलोचनाकैबीच प्रधानमन्त्री देउवाले २२ असोजमा गैरसांसद हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए। सोही दिन कार्यभार सम्हालेका हमालले तेस्रो दिनमा राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।