काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पदाधिकारीको अयोग्यताले पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा मूल नेतृत्व लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठेको उनले बताए।
जनकपुरमा भएको पत्रकार सम्मेलन बोल्ने क्रममा सभापति र पदाधिकारी पार्टी सञ्चालनमा अयोग्य रहेको आरोप लगाए। केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगिनु नेतृत्वको चरम असक्षमता र लापरवाही रहेको उनले बताए। महाधिवेशनको मिति फेरि पनि नसार्न उनले नेतृत्वलाई चेतावनी दिए।
क्रियाशील सदस्यता टुंगो नलागेका जिल्लाको सूची तत्काल निर्वाचन समितिलाई बुझाउन उनले तीन सदस्यीय कार्यदललाई आग्रह गरे। ‘महाधिवेशन सुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ,’ उनले भने।
आफू १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनले दोहोर्याए। महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने, ‘१४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ। म सभापतिको अभियानमा होमिइसकेँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।