प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य।
काठमाडौं- प्रदेश १ मा गठबन्धनमा सहभागी दललाई फ्लोरक्रस हुन सक्ने चिन्ता देखिएको छ। आइतबार प्रदेशका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी गरेका छन्। जसका लागि प्रदेश सभा बैठक बोलाइएको छ। यद्यपि, सत्तारूढ एमाले र विपक्षी कांग्रेसले भने बैठक स्थगन गर्न माग गर्दै निवेदन दिएका छन्।
गठबन्धनबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले अघि सारिएको छ। प्रदेश सभामा रहेका एकीकृत समाजवादी वा माओवादी केन्द्रका सांसदले फ्लोरक्रस गर्न सक्छन् भन्ने चिन्ता रहेको एक सांसदले बताए।
प्रदेश सभा कुल ९३ सदस्यीय भएपनि हाल कायम संख्या ९२ छ। यसम्धये एमालेका मात्र ४१ सांसद छन्। एमालेलाई राप्रपाले सहयोग गरेकाले मुख्यमन्त्री भीम आचार्यको पक्षमा ४२ सांसद खुलिसकेका छन्। आचार्यलाई विश्वासको मत पाउन आवश्यक ४७ मतमध्ये अब ५ मत मात्रै आवश्यकता हुने छ।
यस्तो हुँदा एकीकृत समाजवादी, कांग्रेस वा माओवादी केन्द्रबाट ५ सांसदले फ्लोरक्रस गरेमा आचार्यको पद जोगिन सक्ने भय गठबन्धन दहभित्र छ।
‘मुख्यमन्त्री आचार्यलाई जम्मा ५ मत आवश्यक छ। त्यसका लागि एकीकृत समाजवादी वा माओवादीबाट ५ सांसदलाई मन्त्री बनाएर सत्ता जोगाउन सक्छन् भन्ने चिन्ता छ’, ती सांसदले भने, ‘यस्तो भएमा गठबन्धनबाट प्रस्ताव गरिएका राजेन्द्रकुमार राई मुख्मन्त्री बन्ने बाटो बन्द हुन सक्छ।’
गठबन्धनमा सहभागी चारै दलले आफ्ना सांसदलाई ‘इन्ट्याक्ट’मा राखिरहेको ती सांसदले दाबी गरे। राजेन्द्र राईको पक्षमा एकीकृत समाजवादीका १० जना, कांग्रेसका २१, माओवादी केन्द्र १५, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक गरी कूल ५० सांसदको समर्थन रहेको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।