काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेसले पत्र दर्ता गराएको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवाको प्रदेश १ का जिल्ला भ्रमण रहेकाले बैठक स्थगित गर्न कांग्रेसले माग गरेको छ। कांग्रेसले बैठक स्थगित गर्न माग गरेपनि हालसम्म त्यस बारेमा निर्णय भई नसकेको प्रदेश संसद् सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
गठबन्धनका दलहरूबीच आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित गर्न माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव पराजुलीले जानकारी दिए।
‘हामीबीच केही कुरामा थप छलफल गर्नुपर्ने देखिएको छ। १/२ दिन बैठक रोक्दैमा के हुन्छ र?’, उनले भने।
कांग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने डर पनि दलहरुमा देखिएको छ। तर, कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने सम्भावना नरहेको पराजुलीले दाबी गरे।
संसद् बैठक स्थगित गर्नका लागि सभामुखसँग छलफल गर्न लागेको उनले जानकारी दिए। प्रदेश सभामा कुल ९२ सांसद छन्।
बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। एमालेका ४१ सांसद छन्। ६ जना सांसदले आचार्यको पक्षमा मत दिएको अवस्थामा उनको सरकारले निरन्तरता प्राप्त गर्छ।
राप्रपा र संयुक्त राष्ट्रिय मञ्चका १/१ जनाले आचार्यलाई मत दिएपनि उनलाई बहुमत पुग्दैन। कथं ती दुई सांसदले मत दिएपनि आचार्यलाई थप चार मत आवश्यक पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।