काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन्।
केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीबाट पुगेको क्षतिको अवलोकनपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे। आफू काठमाडौं फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने उनको भनाइ थियो।
अचानक आएको विपद्का कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताए।
बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताए। ‘विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्छ,’ उनले भने, ‘अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको छ।’
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बिहान विराटनगर पुगेका प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको छ।
अवलोकन टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसमेत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।