काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि प्रदेश १ तर्फ जाँदै छन्। प्रधानमन्त्री देउवा आज बाढी प्रभावित पाँचथर र इलामको निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।
अवलोकनका क्रममा उनले इलाम र पाँचथरको सिमाना राके बजारमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट वस्तुगत स्थितिको जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
अवलोकन भ्रमणका क्रममा उनी विराटनगर र सुनसरीमा समेत एक÷एक कार्यक्रममा सहभागी हुने जनाइएको छ।
असोज ३१ पछि निरन्तर परेको वर्षाले प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ। देशभर सबैभन्दा बढी पाँचथरमा २८ जनाको मृत्यु भएको थियो। केही व्यक्ति अझै वेपत्ता छन्।
प्रधानमन्त्री देउवाको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलगायत सहभागी हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।