काठमाडौं- नेकपा (एमाले)ले आज एकै दिन देशभरका छ हजारभन्दा बढी वडाको अधिवेशन सम्पन्न गरेको छ। एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले देशभरका ६ हजारभन्दा बढी नै वडाको अधिवेशन सम्पन्न भएको जानकारी दिए।
‘पालिका तहसम्म प्रारम्भिक रुपमा लिएको जानकारीअनुसार ६ हजार बढी नै वडामा अधिवेशन सम्पन्न भएको छ,’ उनले भने, ‘ती सबै ठाउँमा हामीले सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरेका छौं।’
एमालेले वडा अधिवेशनअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएको थियो। बिहीबार (कात्तिक ४ गते) परिपत्र गर्दै उक्त निर्देशन दिइएको थियो।
कार्यालय सचिव तामाङले अहिलेसम्म कुनै पनि ठाउँमा निर्वाचनबाट कमिटी चयन भएको वा विवाद भएको भन्ने जानकारी नआएको बताए। सचिव तामाङले वडा अधिवेशन सम्पन्न भएसँगै ती वडामा पार्टीको नयाँ नेतृत्व चयन भएको जानकारीसमेत दिए। आज वडा अधिवेशन हुन नसकेका वडाहरुको अधिवेशन कात्तिक मसान्तभित्र सक्न निर्देशन भइसकेकाले मसान्तभित्रमा अधिवेशन सम्पन्न भइसक्ने उनको भनाइ छ।
‘कात्तिक ९ गते पालिकाको पनि एकै दिन देशैभर अधिवेशन हुँदै छ,’ उनले भने, ‘त्यस दिन अधिवेशन हुन नसक्ने पालिकाको पनि मसान्तभित्र सकिसक्छ।’ उनका अनुसार केही दिनअघि आएको बाढी र पहिरोका कारणले प्रभावित भएका जिल्लाहरुका वडामा मात्रै आज अधिवेशन हुन नसकेको हो। त्यस्तै केही स्थानमा पार्टीको आन्तरिक विवाद समाधान हुन नसकेका वडामा पनि अधिवेशन भएको छैन।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले 'भर्चुअल' माध्यमबाट देशव्यापी रुपमा वडा अधिवेशनको उद्घाटन गरेका थिए। त्यसपछि वडाको अधिवेशन सुरु भएको थियो।
एमालेका विभिन्न नेताहरुले पनि सामाजिक सञ्जालमार्फत् सर्वसम्मत रुपमा नै वडा अधिवेशन सम्पन्न भएको जानकारी गराएका छन्। आज अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। पार्टीले पनि लिखित रुपमा देशैभर परिपत्र गर्दै नेतृत्व सर्वसम्मत चयन गर्न भनेको थियो।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदै छ। राष्ट्रिय महाधिवेशन नजिकिएसँगै एमालेले तल्लो तहका कमिटीका अधिवेशन सम्पन्न गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।