काठमाडौं- नेकपा एमाले सुनसरीमा विवाद देखिएको छ। एकले अर्काविरुद्ध विज्ञप्ति जारी गरेर आधिकारिकता दाबी गरेका छन्।
सुनसरीमा रमेशकुमार बस्नेत र रेवती रमण भण्डारी दुवैले अध्यक्ष दाबी गरेका छन्। दुवैले एमालेको आधिकारिक लेडरप्याड नै प्रयोग गरेर एकअर्काविरुद्ध प्रस्तुत भएका छन्।
कात्तिक ३ गते जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले विज्ञप्ति जारी गरेर एमाले जिल्ला कमिटी सचिवालय बैठकको निर्णय भनि रेवती रमण भण्डारीबाट जारी गरिएको विज्ञप्ति अनधिकृत, झुट र भ्रामक रहेको बताएका छन्।
उनीहरुले अन्तर पार्टी निर्देशन १२ मा उल्लेख भए अनुसार पार्टी जेठ २ को अवस्थामा पुगेको र त्यसै अनुसार कमिटी पनि पूर्ववत रुपमा फर्किएको दाबी गरेका छन्। उनीहरुले २०७५ जेठ २ गते कामय रहेको कमिटीहरुको निर्देशन बाहेक अन्य अनधिकृत व्यक्तिबाट निर्देशित निर्देशन र जानकारीको भ्रममा नपर्न भनेका छन्।

यता, एमाले केन्द्रीय कमिटी सदस्य एवं सुनसरी सहइन्चार्ज तैयब हुसैनले विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष भनेर विज्ञप्ति जारी गर्ने रमेशकुमार बस्नेत कहिल्यै पार्टीको सुनसरी जिल्ला कमिटी अध्यक्ष नरहेको बताएका छन्।
उनी समानान्तर कमिटीको मात्रै अध्यक्ष रहेको विज्ञप्तिमा जनाइएको छ। हुसैनले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय कमिटीबाट आउने निर्देशनमा पनि जिल्लाको अध्यक्ष भनेर भण्डारीलाई नै सम्बोधन गरेर आउने गरेको भन्दै त्यसलाई केन्द्रले पनि मान्यता दिइसकेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।