काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू एमालेमा विवाद किन भएन भनेर छटपटाइरहेको बताएका छन्। शनिबार देशैभरका वडा तहको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘विपक्षीहरू हाम्रो बीचमा विवाद किन भएन भनेर छटपटाइरहेका छन्। विधान महाधिवेशनमा ६ हजार बढी सहभागी भएर छलफल गरे कहिँ कतै पनि विमत्ति, झगडा लगायतका कुराहरु प्रकट भएनन्। सहमतिकै अनुसार भयो,’ उनले भने, ‘नेकपा एमालेलाई मजबुत र एकताबद्ध बनाएर लैजानका लागि नै हामी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने विषयमा जोड दिइरहेका छौं।’
पार्टीको काँधमा रहेको अभिभारा पूरा गर्नका लागि एमालेका हरेक नेता कार्यकर्ता गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ। उनले नेता कार्यकर्तालाई सामाजिक अभियन्ताका रुपमा अघि बढ्न पनि निर्देशन दिएका छन्।
‘विकास निर्माण, आय आर्जन र उत्पादनका काममा कसरी घनिष्ठ भएर जोडिने भन्ने विषयमा पनि सबैले ध्यान दिनुपर्छ,’ उनले भने,‘उत्पादनको क्षेत्र र प्रविधिलाई ध्यानमा राखेर रोजगारीका अवसर कसरी सिर्जना गर्न सक्छौं त्यसमा अग्रणी भएर लाग्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।