काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सनको विषयमा पार्टीमा छलफल नभएको बताएका छन्। उनले त्यस किसिमबाट निर्वाचन गर्न पनि नहुने प्रष्ट पारे।
बाढी पीडित क्षेत्रको अवलोकनका लागि पश्चिम क्षेत्र गएका उनले शनिबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीको महाधिवेशन छिटो गर्नुपर्ने बताए।
'महाधिवेशन हुन्छ। गर्नुपर्छ। छिटो गर्नुपर्छ र छिटो प्रक्रियाबाट सम्पन्न गर्नुपर्छ', उने भने, 'पार्टीको वैधानिक प्रक्रियालाई हामीले छोड्नुहुँदैन। बरु छोटो विधि अपनाएर भए पनि सम्पन्न गर्नुपर्छ।'
उनले पार्टी अधिवेशनका क्रममा विवाद भएको ठाउँमा विषयमा प्रतिक्रिया दिँदै त्यहाँ पुनः निर्वाचन गर्नुपर्ने बताए। 'एकपक्षीय निर्वाचन भएका ठाउँमा दोहोर्याएर निर्वाचन हुनुपर्छ', उनको भनाइ छ।
उनले पार्टीको क्रियाशील सदस्यता वितरणमै धाँधली भएको बताए। छानबिन समितिले टुंग्याएर कार्यालयमा बुझाएको नामहरुमा पनि तलमाथि पारिएको उनको भनाइ छ। जघन्य अपराध भएको भन्दै उनले त्यस्तो कुरा रोकिनुपर्ने बताए। 'लोकतान्त्रिक पार्टीको स्वच्छ र निष्पक्ष हुनुपर्छ। र, पारदर्शी हुनुपर्छ', उनले भने।
पौडेलले तत्काल सरकार नढल्ने बताए। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले ढाल्दिन चाहे सरकार एक हप्तामै ढालिदिनसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति उनको प्रतिक्रिया थियो- 'ओलीले भनेजस्तो सरकार ढलाएर ढल्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।