काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार चार जिल्लाबाहेक अन्यमा जिल्ला कमिटीसमेत गठन गरिएको छ। पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ।
अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन्। देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेकोे विज्ञप्तिमा जनाइएको छ।
पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको उनले बताए। त्यसमध्ये ‘कलम’को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ।
पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ। गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ।
सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन्। केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको जनाइएको छ। केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन्।
त्यसैगरी, सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।