काठमाडौं– नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदै छ। वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन्। उद्घाटन समारोहलाई इन्टरनेटको पहुँच भएका वडामा ‘डिस्प्ले’ गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बागमती प्रदेशको चितवनमा हुनेछ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।
एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नुका साथै समितिका केही सदस्य थप गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।