काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे।
उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए। नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरुको काँधमा आएको उनको भनाइ थियो।
‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेकोभन्दा पनि पृथक प्राकृतिक विपद्लाई हामीले सामना गर्नुपर्या छ। अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो। गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो। अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दा समुद्र किनारलाई पनि त्यसले गम्भीर प्रभाव पार्छ। खाली नेपालको मात्र सवाल भएन। त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिँड्ने भन्ने धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ,' गृहमन्त्री खाणले भने।
उनले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको जानकारी दिए। सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा उनले जोड दिए। ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडि बढ्नेछ। हामी सबै नेपालीहरु जुटेरै विपद्बाट नेपालीहरुको, नेपालको भूमिको पनि रक्षा गर्नेछौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।