काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजेका लागि तय बैठक केही ढिलागरि सुरू भएको हो।
आजको बैठकमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। एक स्थायी कमिटी सदस्यका अनुसार मुख्य रुपमा आजको बैठक असार २७ गते भएको १० बुँदे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन-१२ कार्यान्वयनको विषयमा नै केन्द्रित हुनेछ।
१० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ। त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेश कमिटीको बैठकमा १० बुँदे सहमति र त्यसको कार्यान्वयनका सन्दर्भमा दिएको अभिव्यक्तिपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरु असन्तुष्ट बनेका छन्। त्यसैकारण पनि आजको स्थायी कमिटी बैठकको अजेन्डाकै रुपमा यस विषयमा छलफल हुन लागेको हो।
यसअघि हिजोको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय भएको थियो। त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।