धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल नसकिँदै ‘अर्ली इलेक्सन’ हुन सक्ने संकेत गरेका छन्।
बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिम क्षेत्रको अवलोकनमा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारहरुसँग यस्तो बताएका हुन्। ‘अहिले गठबन्धन सरकार छ, मैले एक्लैले भनेर मात्र हुँदैन,’ अर्ली इलेक्सनको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा देउवाले भने, ‘यसबारे गठबन्धनले जे भन्छ, त्यही हुन्छ। यसबारे गठबन्धनमा छलफल हुन्छ।’
पछिल्लो समय कांग्रेसमा अहिलेको अन्योलभन्दा चाँडै निर्वाचनमा जानुपर्ने आवाज उठ्न थालेको छ। प्रमुख प्रतिपक्ष एमालेले पनि वैशाखमा निर्वाचन गराउन जोड दिइरहेको छ।
तर, सत्तारुढ गठबन्धनका दुई घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने प्रतिनिधि सभालाई पूरा अवधि चल्न दिनुपर्ने धारणा राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।