काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन्।
बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्रीले बिहीबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताए। बाढी डुबान पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराइने बताए। ‘बाढीपहिरो पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ उनले भने, ‘काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिनेछ।’
प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी स्थानीय नेता कार्यकर्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानको विकराल समस्याले किसानको हजारौं बिगाहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।
प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुगेका हुन्।
प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत सहभागी छन्। प्रधानमन्त्री आज काठमाडौं फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।