काठमाडौं– युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले जित हात पारेको छ।
बिहीबार राति सम्पन्न खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गरेको स्कटल्याण्ड सुपर १२ मा प्रवेश गरेको छ। स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो।
ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए।
म्याथ्यु क्रसले अविजित २६ रन तथा रिची बेरिङ्टनले अविजित ३७ रन बनाए। जर्ज मुन्सेले २० रनमा आउट भए। ओमानका खावर अली र फायज बुटले समान १÷१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो।
ओमानका लागि अकिब इल्यासले ३७ तथा जिशन मक्सुदले ३४ रन बनाए। त्यसैगरी मोहमद नादिमले २५ रन बनाए।
स्कटल्याण्डका जोस डाभीले ३ तथा साफ्यान शारिफ र माइकल लिस्कले समान २÷२ विकेट लिए।
यस जितसँगै पहिलो चरणको समूह ‘बी’ मा रहेको स्कटल्याण्डले ३ खेलमा ६ अंक जोड्यो। स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै सुपर १२ मा पुगेको हो।
स्कटल्याण्ड सुपर १२ को समूह १ मा रहनेछ। यो समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान रहेका छन्।
पहिलो चरणको समूह ‘बी’ बाट बंगलादेश ३ खेलमा ४ अंक जोडेर सुपर १२ मा पुगेको छ भने ओमान र पपुवा न्यु गिनी बाहिरिएका छन्।
ओमानले २ अंक जोड्यो भने पपुवा न्यु गिनी अंकबिहीन हुँदै बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।