काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन्।
शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमुखी बनाउनुपर्ने बताए।
उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना, उदाशीनता, लापरवाही र भ्रष्टाचारजस्ता गतिविधिलाई त्याग्न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिए।
प्राविधिक विद्यालयको लक्षित समुदाय भनेको आधारभुत जनता भएकाले जनताको जिवस्तार सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका अहम हुने उनको भनाइ छ। उनले भने, ‘सीटीईभीटी दक्ष जनशक्ति उत्पादन, ज्ञान, रोजगारी र उत्पादनमा केन्द्रित हुनुपर्छ।’
सीटीईभीटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न सम्बन्धन दिनुपर्ने मन्त्री पौडेलले बताए। ३० वर्ष लामो इतिहास बोकेको सीटीईभीटी एक प्रकारको विश्वविद्यालय भएको उनको भनाइ छ। कर्मचारीले ज्ञान र लामो अनुभवलाई उत्पादनसँग जोडेर आधारभूत जनताका छोराछोरीलाई सीप सिकाउँदै रोजगारीमा जोड्नुपर्नेमा मन्त्रीको जोड रहेको छ।
‘अहिलेसम्मको ज्ञान र सीपलाई प्रयोग गरेर रोजगारी सिर्जना गर्नुपर्छ,’मन्त्री पौडेलले भने, 'कानुनी जटिलता छन् भने बुँदागत रुपमा हल गरौं।’मन्त्री पौडेलले संविधानमा लेखिएको सीप सिक्ने, काम गर्ने र आत्मनिर्भर बनाउने राज्यको नारा कार्यान्वयन गर्नुपर्ने बताए।
देशमा आङ्गिक शिक्षण संस्था लैजाने विषयमा आवश्यकताको अध्ययन गरी सम्बन्धन दिन सकिने बताउँदै राजनीतिक दबाबमा आफूले काम नगर्ने उनले बताए।
यस्तै, शिक्षा राज्यमन्त्री वोधमायाकुमारी यादवले सीटीईभीटीले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई स्वीकृति प्रदान गर्न आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘प्राविधिक शिक्षा जनमुखी छ, यसलाई गाउँ-गाउँमा पुर्याउनुपर्छ।’
परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीईभीटी कर्मचारी अभाव, व्यवस्थापन र पदपूर्ति जस्ता विषयमा अन्योलग्रस्त भएको बताएका छन्। उनले प्राविधिक शिक्षालाई सीप, श्रम र उत्पादनसँग जोड्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।