मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य।
काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ। बिहीबार भएको छलफलमा गठबन्धनका नेताहरुले मन्त्री शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
छलफलमा मुख्यमन्त्री शाक्य, माओवादी केन्द्रका शालिकराज जम्कट्टेल, कांग्रेसका इन्द्र बानियाँ, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, एमालेका राजेन्द्र फुयाँल, विवेकशील साझा पार्टीका रमेश पौडेल र स्वतन्त्र सांसद प्रेमकुमार तामाङले धारणा राखेका थिए।
शाक्यले आफूले नेपालको संविधानको अक्षरशः पालना र कार्यान्वयन गर्दै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकारको सुनिश्चितता प्रदान गर्ने संकल्प गरेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको बताइन्। उनले एमाले सरकार मूलतः प्रदेशको संस्थागत विकास, नीतिगत व्यवस्था र संरचना निर्माणमा सफल भएको पनि बताइन्।
'आर्थिक सूचकांक, सुशासन, आर्थिक अनुशासन, राजस्व संकलन तथा संघीयता कार्यान्वयनमा सरकारले गरेको अभ्यास उपलब्धिमूलक रह्यो', उनले भनिन्।
जम्कट्टेलले भने भने शाक्य मुख्यमन्त्री बनेको केही दिनमै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको तर पार्टीका शीर्ष नेताले हतार नगर्न भनेकाले त्यतिबेला रोकिएको बताए। उनले शाक्यलाई मार्गप्रशस्त गर्न अनुरोध गरे।
'आफ्नो राजनीतिक नैतिकता र इमानदारिता भन्ने कुरा बचाउनुपर्छ। तपाईंलाई म अनुरोध गर्न चाहन्छु, गठबन्धनले निर्णय गरेर आइसकेको छ। तपाईंले मार्गप्रशस्त गरिदिनुस्। राजीनामा दिनुस्। नयाँ सरकार गठबन्धनको तर्फबाट बन्छ। म तपाईंलाई विशेष आग्रह गर्न चाहन्छु। किनभने, तपाईंले आफ्नो मत दर्ज गरिसक्नुभएको छ। आफ्नो कुरा राखिसक्नुभएको छ', उनले भने।
त्यस्तै, बानियाँले संविधानको रक्षा र अब आउने निर्वाचनसम्म व्यवस्था रक्षाको लागि गठबन्धन निरन्तर जाने बताए। 'यो गठबन्धनले जनताको व्यवस्थालाई संबर्द्धन र प्रबर्द्धन गर्ने र मुलुकलाई दिगो शान्ति र जनताको खुशी ल्याउँछ। गठबन्धनप्रति बेइमानी छैन। प्रतिबद्ध छौं', उनले भने, 'गठबन्धन जनताको सुख कागजमा होइन, व्यवहारमा ल्याउँछ।'
उनले पनि मुख्यमन्त्री शाक्यले मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुने अपेक्षा व्यक्त गरे। साथै, विश्वासको मत लिने प्रस्तावको प्रक्रियालाई धेरै नलब्याउन आग्रह गरे।
गठबन्धनद्वारा मुख्यमन्त्रीमा प्रस्ताव गरिएका राजेन्द्र पाण्डेले पनि शाक्यलाई मार्गप्रशस्त गर्न अनुरोध गरे। 'उहाँ (शाक्य) अल्पमतमा परेको ३९ दिन भयो। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यक्ति आजसम्म जिम्मेवारीमा किन टाँसिएर बसिराख्नुभएको छ? मलाई आश्चर्य लागेको छ। त्यस हुनाले मार्गप्रशस्त गर्नु सबभन्दा राम्रो हुन्छ', उनले भने।
उनले शाक्यले नै विगतमा केपी शर्मा ओलीको आलोचना गरेको तर अहिले प्रतिगमनकारीकै कित्तामा उभिएर मुख्यमन्त्रीको जिम्मेवारी निभाइरहेको बताए। गठबन्धनको औचित्यबारे उनले भने- यो गठबन्धन संविधान, संघीयता, समावेशिताको पक्षमा र निर्वाचित तानाशाहको विपक्षमा उभिएको छ।'
एमालेका सांसद् रामेश्वर फुँयालले भने अस्थिरता नचाहेको, समाजवाद, अग्रगमन र सुशासन चाहेको हो भने शाक्यलाई मत दिन आग्रह गरे। 'मतदानपछि अष्टलक्ष्मी शाक्यले नै मुख्यमन्त्री चलाउने अवस्था आयो भने डेढ वर्षको बाँकी अवधि डोरमणि पौडेलले सुरु गर्नुभएको अभियान, नेकपा एमालेले अघि बढाएको अभियान अगाडि बढाउँला। भएन भने, भूइँमा बसेर पनि हामी काम गर्न तयार छौं', उनले भने।
त्यस्तै, विवेकशील साझा पार्टीका सांसद रमेश पौडेलले केपी ओलीले दुई-दुई पटक प्रतिनिधि सभा विघटन गर्दा शाक्य र आफूहरु सँगसँगै सडकमा रहेको स्मरण गरे। 'केपी ओली प्रवृत्तिलाई मुख्यमन्त्री शाक्यले साथ दिइराख्नुभएको छ भन्ने कुराको बोध हुँदा मलाई दुःख लागेको छ। यो स्थितिमा हामी कसरी मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्छौं? गम्भीर प्रश्न खडा भएको छ', उनले भने।
उनले मुख्यमन्त्री शाक्यको दुई चित्र देखिरहेको बताए। 'मुख्यमन्त्रीजीले जुन फेहरिस्त राख्नुभएको छ। उहाँले दुई महिनाको अवधिमा जति काम गरेँ भन्नुभएको छ। पूर्ववर्ती सरकारको काम पनि राख्नुभएको छ। २०७७ पुस १० गते उहाँले दर्ता गरेको अविश्वासको प्रस्तावमा लगाएको आरोपसँग मेल खाइरहेका छैनन्। त्यसले गर्दा हामीले मुख्यमन्त्रीको दुइटा चित्र देखिरहेका छौं। हामीले कुन चित्रलाई विश्वासको मत दिने? कुन चित्रलाई अविश्वासको मत दिने दुविधामा छौं', उनको भनाइ छ।
त्यस्तै, स्वतन्त्र सांसद् प्रेम बहादुर तामाङले अहिलेको लडाइँ शाक्य र पाण्डेको मात्रै नभएको बताए। 'यो प्रतिगमनकारी र अग्रगमनकारीको लडाइँ हो। त्यसैले अग्रगमनकारीको पक्षमा छौं। त्यसको नेतृत्व गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेले गरिराख्नुभएको छ', उनले भने।
उनले आफूहरु हर्षका साथ मुख्यमन्त्री शाक्यको प्रस्तावको विपक्षमा उभिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।