मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य।
काठमाडौं- बागमती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा टेबल गरिएको विश्वासको मत लिने प्रस्तावमाथि छलफल जारी छ। छलफलमा भाग लिँदै गठबन्धनका नेताहरुले मार्गप्रशस्त गर्न शाक्यलाई आग्रह गरेका छन्।
माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले गठबन्धनले निर्णय गरेर आइसकेको भन्दै मार्गप्रशस्त गरिदिन आग्रह गरे। 'राजीनामा दिनुस्। नयाँ सरकार गठबन्धनको तर्फबाट बन्छ। म तपाईंलाई विशेष आग्रह गर्न चाहन्छु। किनभने, तपाईंले आफ्नो मत दर्ज गरिसक्नुभएको छ। आफ्नो कुरा राखिसक्नुभएको छ', उनले भने।
राजीनामा दिन आग्रह गर्नुअघि उनले शाक्य निर्विवाद र निष्कलंकित मान्छे भएको बताए। 'तपाईंलाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर हामी हिजो धेरै लड्यौं पनि। तपाईं हामी सँगै लडेको हो', उनले भने, 'सवाल कहाँ हो भने आफ्नो राजनीतिक नैतिकता र इमानदारिता भन्ने कुरा बचाउनुपर्छ।'
जम्कट्टेलपछि बोलेका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मार्गप्रशस्तको अपेक्षा गरे। 'मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुन्थ्यो', उनले भने।
उनले सभामुखलाई पनि विश्वासको मतको प्रस्तावको प्रक्रियालाई धेरै नलम्ब्याउन आग्रह गरे। 'दुई/पाँच दिनले केही हुँदैन। यथाशीघ्र टुंग्याउन अनुरोध छ', उनले भने।
गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएका एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले पनि मार्गप्रशस्त गर्नु नै राम्रो हुने बताए।
उनले भने, 'उहाँ (शाक्य) ३९ दिन भयो अल्पमतमा परेको। अल्पमतमा भएको ३९ दिन भइसकेको व्यक्तिले र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यक्तिले आजसम्म उहाँ यो जिम्मेवारीमा किन टाँसिएर बसिराख्नुभएको छ, मलाई आश्चर्य लागेको छ। त्यस हुनाले मार्गप्रशस्त गर्नु सबभन्दा राम्रो हुन्छ।'
एमालेले सत्ता लम्ब्याउन खोजेको भन्दै गठबन्धनका नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन्। एमालेले पार्टीको महाधिवेशन सुरु हुन गइरहेको भन्दै बैठक सार्न निवेदन समेत दिएको थियो। त्यसैलाई लक्षित गर्दै गठबन्धनका नेताहरुले केही दिन सत्ता लम्ब्याउन खेलमा नलाग्न सचेत गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।