काठमाडौं- नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दा आफू मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध उभिने दिन आएको बताएका छन्।
'कसले गर्यो, दुई-दुई पटक संसद् विघटन?', बिहीबार प्रदेश सभामा जारी विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाण्डेले भने, 'कम्युनिस्ट पार्टीको अध्यक्ष, नेता प्रधानमन्त्री भएको बेलामा भयो। र, वास्तवमा विध्वंश पार्ने काम भयो। त्यसै कारणले गर्दा आज यो देशको स्थिति आयो। प्रदेशमा पनि अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो। यो स्थिति बन्यो।'
उनले गठबन्धन किन बन्यो भन्ने कुरा सबैलाई भलिभाँती जानकारी भएको र सबैभन्दा बढी जानकार मुख्यमन्त्री शाक्य भएको बताए। शाक्यले नै विगतमा ओलीको आलोचना गरेको बताए।
अहिले भने शाक्यले प्रतिगमनकारीकै कित्तामा उभिएर मुख्यमन्त्रीको जिम्मेवारी निभाइरहेको बताए। 'यो गठबन्धन संविधान, संघीयता र समावेशिताको पक्षमा र निर्वाचित तानाशाहको विपक्षमा उभिएको छ', उनले भने।
पाण्डेले शाक्यलाई नै अगाडि सारेर डोरमणि पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव राखेको स्मरण गरे। 'उनै डोरमणिले केके गरेका फेहरिस्त सुनाएर अहिले सकभर मलाई नहटाइदिए हुन्थ्यो भनेर उहाँले निवेदन गरेको जस्तो लाग्यो', उनले भने।
उनले शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरे। गठबन्धनको तर्फबाट शाक्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।