काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफूहरू गठबन्धनप्रति इमान्दार रहेको बताएका छन्।
बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावको छलफलमा बोल्दै उनले मार्ग प्रशस्त गरिदिन पनि शाक्यलाई अनुरोध गरे।
उनले गठबन्धनको संस्कार संविधानको रक्षाका लागि रहेको भन्दै अब आउने निर्वाचनसम्म यो गठबन्धन निरन्तर जाने बताए।
'यो गठबन्धनले जनताको व्यवस्थालाई संबर्द्धन र प्रवर्द्धन गर्ने काम गर्छ। मुलुकमा दिगो शान्ति र जनताको खुशी ल्याउँछ। गठबन्धनप्रति बेइमानी छैन। नेपाली कांग्रेस गठबन्धनप्रति इमानदार छ। हामी प्रतिबद्ध छौं', बानियाँले भने, 'गठबन्धनले जनताको सुख कागजमा होइन, व्यवहारमा ल्याउँछ।'
उनले विश्वासको मत लिने सम्बन्धी प्रस्तावमाथिको छलफल नलम्ब्याउन सभामुखसँग पनि आग्रह गरे। 'मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुन्थ्यो। सभामुखलाई मेरो आग्रह छ- धेरै नलम्ब्याऔं। दुई/पाँच दिनले केही हुँदैन। यथाशीघ्र टुंग्याउन अनुरोध छ', उनले भने।
बागमती प्रदेशमा मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भएसँगै कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धन नयाँ सरकार गठनको तयारीमा छ।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। पाण्डेपछि कांग्रेसका बानियाँ मुख्यमन्त्री बन्ने समेत सहमति भएको नेताहरूले बताएका छन्।
प्रदेश सभाको बाँकी कार्यकाल आधा-आधा समय एकीकृत समाजवादी र कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको नेताहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।