काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू नेतृत्वको सरकारले धेरै राम्रा कामको थालनी गरेको दाबी गरेकी छन्। ६४ दिन मुख्यमन्त्रीको रुपमा काम गरेकी उनले यो अवधिमा सरकारले धेरै राम्रा कामहरूको थालनी गरेको दाबी गरेकी हुन्।
बिहीबार प्रदेश सभामा विश्वासको मत लिने सम्बन्धी प्रस्तावमा बोल्दै उनले सरकारले सुशासन कायम गर्नका लागि मन्त्रीको आचारसंहिता लागू गरेको उल्लेख गरिन्।
चालू आर्थिक वर्षका लागि २८ मन्त्रालयको कार्यविधि स्वीकृत भएको उनले सुनाइन्। प्रदेशमा अलग्गै स्वास्थ्य संरचना बनाइएको र पाँच वटा नियमावली निर्माण भएको शाक्यले बताइन्।
मेलम्ची, हेलम्बु र दोलखा लगायतका क्षेत्रमा आएको बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनाका लागि ९० लाख उपलब्ध गराएको उनले बताइन्। बाढी, पहिरो र भूकम्प जस्ता कार्यको पूर्वानुमान गर्ने व्यवस्था गरेको मुख्यमन्त्री शाक्यको भनाइ छ।
बागमती सरकार क्रमश: आत्मनिर्भर हुँदै गएको भन्दै उनले चालू खर्च १८ प्रतिशतले बढेको दाबी पनि गरिन्। बागमतीलाई सबैभन्दा कम बेरुजु भएको प्रदेशको रुपमा राख्न सफल भएको उनको भनाइ छ।
युवा उद्यम विकासका लागि भएको घोषणा कार्यान्वयनमा ल्याइएको भन्दै उनले सार्वजनिक खर्चको मितव्ययितामा ध्यान दिइएको उल्लेख गरिन्। बजार अनुगमनमा तिव्रता भएको भन्दै उनले महंगी र कालोबजारी नियन्त्रणमा सरकारले काम गरेको दाबी गरिन्।
बिउ बिजन सम्बन्धी निर्देशिका तयार भएको, विद्युत्तिय बस सञ्चालनका लागि जग्गा छनोट गरि चार्जिङ स्टेशन निर्माण अघि बढाइएको, बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न सफल भएको उनले सुनाइन्।
बागमती प्रदेशको सूचना भण्डारण र प्रशारण गर्नका लागि सरकारले काम गरेको शाक्यको भनाइ छ। भौतिक पूर्वाधार र अन्य पूर्वाधारणका लागि पनि काम अघि बढेको उनले दाबी गरिन्। शाक्यले आफ्नो नेतृत्वमा समाजवादउन्मुख कार्यक्रमको खाका तयार भएको र छिट्टै सार्वजनिक हुने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।