काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाबुको विरासतले मात्र आफू राजनीतिमा नआएको बताएका छन्।राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको सिंहले बताए। नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा लामो समयदेखि रहेको उनले विगतको स्मरण गराए।
असफल भएर आफू राजनितिमा नआएको उनको तर्क छ। गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ।
बिहीबार धादिङमा भएको धुनिबेँसी नगर समितिको कार्यालय उद्घाटन गर्ने क्रममा नेता सिंहले भने, ‘गणेशमानको छोरा भएर मात्र राजनीतिमा आएको होइन।’ १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको उनले बताए।
आसन्न १४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने उनको भनाइ छ। ‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशनअगाडि बढाउनुपर्दछ।’ यसमा नेतृत्वले ध्यान दिनु जरुरी छ।’
पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।