काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति 'एकतारे' नभइ पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै '१० बुँदेको सन्दर्भलाई एकतारेसँग तुलना गर्दै त्यसलाई बजाउनु आवश्यक नभएको' बताएका थिए। त्यसको प्रत्युत्तरमा उपाध्यक्ष रावलले ओलीलाई उक्त जवाफ दिएका हुन्।
'१० बुँदे सहमति 'एकतारे' होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,' रावलले ट्वीटरमा लेखेका छन्।
एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नुअघि पार्टी एकता कायम राख्न भन्दै १० बुँदे सहमति गरिएको थियो। तर, नेता नेपालले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।
नेता नेपाललाई छाडेर ओलीसँग एमालेमै फर्केका उपाध्यक्ष रावललगायत नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। अध्यक्ष ओली भने त्यसमा सकारात्मक देखिएका छैनन्। यहीबीचमा आज ओलीले १० बुँदे कार्यान्वयनको कुरा गर्न आवश्यक नभएका बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।