काठमाडौं- एमालेकै कतिपय नेताले १० बुँदे सहमतिको पूर्ण कार्यान्वयनको माग गरिरहेको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले त्यसको आवश्यकता नरहेको बताएका छन्। उनले १० बुँदेको सन्दर्भलाई एकतारेसँग तुलना गर्दै त्यसलाई बजाउनु आवश्यक नभएको बताएका हुन्।
'हामीले आन्तरिक अनेकता होइन, आन्तरिक एकतामा जोड दिनुपर्छ र एकता बनाउनुपर्छ। हिजो कताको के को, अब यो १० बुँदे के जाति, के जातिको एकतारे बजाएर, भज गोविन्दं, १० बुँदे, १० बुँदे, १० बुँदे, टेन्डिङ टेन्डिङ; यो पनि धेरै गरिरहनु आवश्यक छैन,' बुधबार एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै उनले भने, 'एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क। कति बजाउने १० बुँदे टेन्डिङ टेन्डिङ।'
उनले माधव नेपाल आउँछन् र पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरिएको स्पष्ट पारे। 'अब के १० बुँदे, १० बुँदे, १० बुँदे? हाम्रो पार्टी, हामीले बनाएको पार्टी, अलिअलि साथीहरुले बाटो बिराउनुभयो होला। फर्केर आउने, काम गर्ने। सिद्धियो त,' उनको भनाइ छ।
उनले माधव नेपालसँग झुक्किएर गएकाहरुलाई पनि आफूहरुले फर्किन भनिरहेको बताए। उनीहरुलाई कुनै भेदभाव नगर्ने उनको भनाइ छ। 'योग्यता अनुसार प्रदेश कमिटीमा बस्ने, योग्यता अनुसार केन्द्रमा बस्ने। योग्यता अनुसार जहाँ राख्न मिल्छ, त्यहाँ राख्ने। कुनै आग्रह छैन,' उनले भने, 'तर माधव नेपाललाई 'नो इन्ट्री'।'
उनले लुकाएर कुरा गर्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै एमाले कुडाकर्टक फाल्ने पार्टी नभएको बताए। 'यो कुडाकर्टक फाल्ने डम्पिङ साइट, बञ्चरे डाँडा हो यो? त्यसैले यो पार्टीलाई पवित्र पार्टीको रुपमा राखिन्छ। पवित्र पार्टीको रुपमा राख्दाखेरि माधव नेपाल, कुहिएको आलु बोरामा हाल्ने? अरु आलुसँग मिसाउन? त्यसले ब्याक्टेरिया फैलाएर अरु आलु पनि कुहाइदिन्छ। अहिले केही मान्छे किन बिग्रिए भन्दा माधव नेपालले गर्दा बिग्रिए। त्यसकारण माधव नेपाललाई नो इन्ट्री,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।