काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको १०० दिनमा जनतामा आशा र विश्वास जागेको बताएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित कार्यक्रममा उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, 'मुलुकलाई समृद्ध गराउने जनताको जुन अभिलाषा छ। त्यो अभिलाषालाई पूरा गर्ने यात्रामा सरकार दृढताका साथ अघि बढेको छ।'
सरकारले बाढी तथा डुबानबाट क्षति बेहोर्नेहरुलाई राहत पनि घोषणा गरेको छ। 'विपद्को घटनामा परी कुनै परिवारको मृत्यु भएमा दुई लाख रुपैयाँको दरले सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँको दरले एकद्वार नीतिबाट राहत उपलब्ध गराउने,' कार्कीले भने।
उनले विपद्बाट घर, वाहल, आवास नष्ट भएका वा खाद्यान्नबाली तथा जग्गाजमिन वा पसलको व्यवसायसमेत नोक्सानी भइ तत्काल गुजाराको लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई प्रतिव्यक्ति पाँच जनासम्म सदस्य भएको परिवार भए १५ हजार रुपैयाँ, पाँच जनाभन्दा बढी सदस्य भएको परिवार भए २० हजार रुपैयाँको दरले नगद सहायता उपलब्ध गराउने पनि उनले बताए।
त्यस्तै, बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाउने र उपचारमा कुनै कमी हुन नदिने निर्णय भएको उनले बताए।
उनले बाढी तथा डुबानबाट पुगेको क्षतिको सन्दर्भमा सरकार तत्काल उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।