काठमाडौं- नेकपा (एमाले)मा असन्तुष्ट पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासँग नजिकिन थालेका छन्। एमालेमा सम्माजनक स्थान नपाएको भन्दै स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय कमिटी सदस्य प्रभु साहले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँगको भेटघाट बढाएका हुन्।
गत असोज २३ गते नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई थापा र साहले लाजिम्पाटमा भेटघाट गरेको नेकपाका एक नेताले बताए। भेटमा संसद्बाहिर रहेका कम्युनिस्टहरुको मोर्चाबन्दी गर्ने विषयमासमेत छलफल भएको ती नेताको भनाइ छ।
यद्यपि, कसरी जाने भन्ने विषयलाई भने मूर्तरुप दिइनसकेको उनले बताए। विश्वकर्मालाई भेटेलगतै साहले सामाजिक सञ्जाल फेसबुकमा 'देशको बदलिँदो परिवेश र समसामयिक राजनीतिक विषयवस्तुप्रति केन्द्रित भइ विशेष छलफल भएको' सार्वजनिक गरेका थिए। यसले पनि एमालेमा असन्तुष्ट नेताहरु विप्लवसँग नजिकिन छलफललाई तीव्रता दिएको देखाउँछ। साहले यसअघि गत असोज १७ गते एमाले विधान महाधिवेशनमा अनुपस्थित भएका थिए। उनले सम्मेलनमा सहभागी आफूपक्षका २५ जनालाई त्यहाँबाट निस्कन लगाएका थिए। पछि उनीहरुले पनि एमालेको प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका थिए।
साह आफूलाई अहिले एमालेका रुपमा चिनाउनै चाहँदैनन्। उनले आफू नेकपाको निरन्तरताका रुपमा मात्र एमालेमा पुगेको बताउने गरेका छन्।
एमालेमा असन्तुष्ट नेताहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश नदिएपछि विप्लव नेतृत्वको नेकपातिर नजिकिएका हुन्। एमालेमा सम्माजनक एकता नपाएपछि यसअघि टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायत पूर्वमाओवादी नेताहरुले विप्लवसँग पनि भेटेका थिए। त्यतिबेला एमालेमा असन्तुष्ट नेताहरुले पूर्वसहकर्मीको रुपमा भेटेको बताएका थिए।
फरक पार्टीमा भएका नेताहरुले विप्लव नेतृत्वको नेकपा नेताहरुलाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। विप्लव नेतृत्वको नेकपाका नेताहरुसँगको भेटघाटलाई कुनै राजनीतिक रुपमा लिन नहुने थापाले प्रतिक्रया दिए।
‘हामी खासै केही कुरा गरेका छैनौं। अनौपचारिक भेटघाट, छलफल भइरहेको छ। त्यस्तो केही निर्णय भएको होइन,’ थापाले नेपाल लाइभसँग भने।
एमालेमा सम्माजनक स्थान नपाएकाले पूर्वमाओवादी नेताहरुलाई त्यही पार्टीमा बस्नसमेत सकस भइरहेको छ। रामबहादुर थापा ‘बादल’, रायमाझी, भट्टलगायत नेताहरुको विषयमा भने त्यस्तो चर्चा बाहिर आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।